क्रिश्चियन धर्म प्रचारक अमेरिकी नागरिकको भारतको दुर्गम आदिवासी क्षेत्रमा हत्या

नयाँदिल्ली, ७ मंसिर । भारतमा क्रिश्चियन धर्म प्रचार गर्ने एक अमेरिकी नागरिकको हत्या भएको छ । अमेरिकी नागरिक जोन अलेन चाउको भारतमा हत्या भएको हो । उनी क्रिश्चियन धर्म प्रचारका लागि भारतको दुर्गम आदिवासी क्षेत्र अन्डामन टापुमा पुगेका थिए । उनको त्यहाँ शंकास्पद रुपमा हत्या भएको हो ।

यहाँका आदिवासीले प्रयोग गर्ने धनुष वाणको प्रहारले चाउको हत्या भएको बुझिएको छ । यस क्षेत्रमा विदेशीले यस्ता हतियार बोक्न प्रतिबन्ध लगाइएकाले पनि चाउको हत्या अन्डामनका आदिवासीले नै गरेको बताइन्छ ।

उनले क्रिश्चियन धर्म प्रचार गरेका कारण उनको हत्या गरिएको अधिकारीहरुले बताएका छन् । चाउको आफ्नो सामाजिक संजालमा भने आफू एक इसाई धर्ममा विश्वास गर्ने फिरन्ते भनी उल्लेख छ । सोसल मिडियामा इसाइ धर्ममा विश्वास गर्ने जस्ता अभिव्यक्ति र भनाइ उल्लेख भएका आधारमा उनी धर्म प्रचारकै कारण मारिएको हुनसक्ने बताइएको छ । चाउले भिक्टोरियन घुमन्ते र मिसनरी डेभिड लिभिङ्सटन र जिससबाट अति प्रभावित भएको कुरा आफ्ना पोष्टमा उल्लेख गरेका थिए ।

रिपोर्टका अनुसार चाउ त्यहाँका आदिवासी माझीहरुलाई प्रयोग गरी टापुमा छिरेका थिए । जब कि, यस क्षेत्रमा सिधै प्रवेश गर्नु आदिवासीहरुको नियम विपरित हुन्छ । उनी त्यहाँ अनुमति बिना छिरेका कारण आदिवासीहरुले उनको हत्या गरेको अधिकारीहरुले बताएका छन् । उनी यसअघि नै चार वा पाँच पटकसम्म स्थानीय माझीको सहायतामा उत्तरी सेन्टिल क्षेत्रको टापु भ्रमण गरिसकेका थिए ।

अधिकारीहरुका अनुसार यी टापुका बासिन्दा ६० हजार वर्षयता यही क्षेत्रमा पृथक रुपमा रहँदै आएका छन् । यहाँका माझीहरुको डुँगा प्रयोग गरी टापुमा छिरेपछि उनको हत्या भएको हो । हत्यापछि उनका केही साथीहरुले ‘चाउ सहिद’ भएको भन्दै उनीप्रति श्रद्धान्जली अर्पण समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *